भरतपुर-डेनमार्कमा अनुसन्धान निर्देशकका रुपमा काम गरेका कृषि वैज्ञानिक भानु पोखरेल ८ महिना यता चितवनको माडीमा व्यस्त छन् । माडी–५ नयाँ पिपरियामा जन्मेका पोखरेल नजिकैको ४ नम्बर वडाको खैरहनीमा ‘माडी प्राङगाकि कृषि तथा अनुसन्धान केन्द्र प्रालि’ मार्फत रासायनिक मलको विकल्पमा गुणस्तरीय अर्गानिक मल बनाउन कस्सिएका छन् । फर्मलाई प्राङगारिक सिकाई केन्द्रका रुपमा विकास गर्दैछन् ।
डेनमार्कको अरुष युनिभर्सिटीबाट पिएचडी गरेका पोखरेल ग्रिन एफ कम्पनिमा अनुसन्धान निर्देशकका रुपमा काम गर्थे । करिब १३ वर्ष डेनमार्कमा बसेका थिए । एग्रो बायोलोजीमा मास्टर्स, अर्गानिक एग्रिकल्चरमा पिएचडी गरे । झोल मल (लिक्युड फर्टिलाजर), खाद्य पोषणमा उनले विज्ञाता संगालेका छन् । अर्गानिक ग्रोइङ मेडिया, सुक्ष्म जीवाणु विकास, अर्गानिक झोल मल उत्पादन तथा अनुसन्धानमा सक्रिय बने । “ज्ञानसीप विदेशमा बटुलेपनि सपनामा सधैं नेपाल देखिरहन्थें”, उनी भन्छन्, “नेपालमै केही गरौं भनेरै २ महिना देशका धेरै ठाउँ घुमें, उत्साह थपियो ।” २०२० फेब्रुअरीमा नेपाल आएर जग्गा छनौट गरे । अर्गानिक ड्रिम बोकर स्वदेश फर्केका भानुले २२ विघा जग्गालाई अनुसन्धान भूमि बनाएका छन् । २ वर्षमै ५० विघा पु-याउने लक्ष्य छ ।
“अर्गानिक बनाउने इनर्जी सरकार, केही प्रदेश र जिल्लासँग भएको पाएँ”, उनी भन्छन्, “सजिलो छैन, तर असम्भव छैन, केही प्रविधि र विधि विकास गर्न जरुरी छ ।” संसारमै धेरै अर्गानिक फुड मार्केटको देशका रुमपा चिनिएको डेनमार्क छाडेर नेपाल फर्केका पोखरेल ज्ञानसीप स्वदेशमै लगानी गर्ने सोचमा छन् । “थोरै भएपनि टेक्नोलोजी यहाँ एप्लाई गर्न सकिन्छ की”, उनी भन्छन्, “अर्गानिकको भविष्य राम्रो छ, अर्गानिकमा जाने अभियानै चलाउनुपर्छ ।” विषादी र रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति गुमिसकेकाले केही वर्ष माटो सुधार अभियान चलाउनुपर्ने उनको बुझाई छ ।
“३–४ मुरी धान फल्ने खेत अहिले बिग्रिसके, २० वर्ष पहिलेजस्तो छैन”, उनी भन्छन्, “विषादी र रासायनिक मलको प्रयोग रोक्नैपर्छ, त्यसका लागि अहिलेबाटै सुरु गरौं ।” उनका अनुसार माटोमा अर्गानिक म्याटर साढे २ देखि ५ प्रतिशत हुनुपर्नेमा आजभोली ०.५ प्रतिशतपनि छैन । आफ्नै फर्ममा परीक्षण र अनुसन्धान सकेपछि किसान माझ अर्गानिक खेतीमा जाउँ भनेरै जाने बताए । “रोग किरा लाग्छ, के गरौं भन्दा कैयन जवाफ दिन गाह्रो छ”, उनी भन्छन्, “अध्ययन, अनुसन्धानका निष्कर्षले किसानलाई सँगसँगै अर्गानिक अभियानमा लैजाने छौं ।” डेनमार्कमै करिब १० वर्ष अध्ययन अनुसन्धानमा सक्रिय पोखरेल स्थानीय बायोमासलाई ट्रिटमेण्ट गरेर नेपाली हावापानी सुहाउँदो नयाँ ग्रोइङ मिडिया विकास गर्न लागेका छन् ।
४ महिनामा ३ चरणको परीक्षण सकिएको छ । “६ महिनामा ग्रोइङ मिडियाको व्यावसायीक उत्पादनमा जादैछौं”, उनले भने, “वार्षिक ६ सय टन उत्पादनको लक्ष्य छ ।” बेर्ना उमार्न, हुर्काउन ग्रोइङ मिडिया (कोकोपीट, पिटमस) उपयोगी मानिन्छ । चलनचल्तिमा रहेका कोकोपीट, पीटमसको विकल्पका रुपमा स्थानीय ब्राण्डको ग्रोइङ मिडिया विकासमा पोखरेल तल्लिन छन् । कौसी, गमला, करेशाबारी, नर्सरी फर्ममा ग्रोइङ मिडिया (कोकोपीट, पिटमस) को खपत बढ्दो छ । “हामीले उत्पादन गरेको ग्रोइङ मिडिया अन्य फर्ममा पनि परीक्षण भइरहेको छ”, उनी भन्छन्, “अहिलेसम्मको नतिजा राम्रो छ, बिरुवालाई आवश्यक १८ खाद्य तत्व व्यवस्थापन गर्न सजिलो देखिएको छ ।” उनका अनुसार परीक्षणका क्रममा रहेको ग्रोइङ मिडियामा प्राङगारिक मलहरु थप्नुपर्ने छैन ।
नरिवलको जटाको धुलोबाट कोकोपीट तयार हुन्छ । पानीको दलदलमा सुकेर बनेको स्पेगनम लेउ र प्राङगारिक पदार्थबाट पिटमस तयार हुन्छ । तर, चलनचल्तीमा रहेका कोकोपीट र पिटमसमा अम्लियपना र नुनिलोपना बढी हुँदा किसानहरु विकल्प खोजिरहेका छ्न् । करोडौं मूल्य बराबरको कोकोपीट र पिटमस नेपाल भित्रिने गर्छ । पानी सोस्ने, खाद्य तत्व पाइने र माटोको विकल्पका रुपमा प्रयोग हुने भएकाले उपभोग बढ्दो छ । “हामीले उत्पादन गरेको ग्रोइङ मिडिया गुणस्तरीय छ, छिटै नै मार्केट वुष्ट गर्छ भन्ने अपेक्षा छ”, उनी भन्छन्, “छिटैनै उत्पादन इकाई बनाएर व्यवसायीक उत्पादन सुरु हुनेछ ।”
पिटमसमा कृषि चुन, कोकोपीट वास गरेर प्रयोग गर्नुपर्ने बाध्यता हटाइने उनको दाबी छ । विकास गर्न लागिएको ग्रोइङ मिडिया ३–४ हप्तामा तयार हुने बालीका लागि निकै उपयोगी हुने बताए । कम्पोष्ट मल तयार गर्दा नाइट्रोजन खेर जाने समस्यालाई हल गर्न अनुसन्धान भइरहेको बताए ।