माडी । अर्गानिक सपना बोकेर डेनमार्कबाट स्वदेश फर्केका कृषि वैज्ञानिक डा. भानिश्वर पोखरेल (भानु)ले माडीको २२ बिघा जग्गालाई अनुसन्धान भूमि बनाएका छन् । माडी नगरपालिका–४, खैरहनीमा माडी प्राङ्गारिक कृषि तथा अनुसन्धान केन्द्र प्रा.लि. फर्मलाई प्राङ्गारिक सिकाइ केन्द्रका रुपमा विकास गर्न उनी लागिपरेका हुन् । डेनमार्कमा त्यहीँका कृषि संस्थानमा अनुसन्धान गर्दै निकै राम्रो जीवनयापन गरिरहेका डा. पोखरेल आफ्नै देशमा आधुनिक कृषिकर्म गर्न फर्किएका हुन् ।
बागलुङको बोहोरा गाउँमा जन्मिएका उनको परिवार चितवनको माडी–५, पिपरियामा बसाइ सरेको थियो । डेनमार्कको आरूष युनिभर्सिटीबाट कृषिमा पिएचडी गरेका पोखरेल ग्रीन एप कम्पनीमा अनुसन्धान निर्देशकका रुपमा जागिरे थिए । एग्रो बायोलोजीमा मास्टर्स, अर्गानिक एग्रिकल्चरमा पिएचडी गरेका उनले झोल मल (लिक्युड फर्टिलाइजर) र खाद्य पोषणमा विज्ञता हासिल गरेका छन् ।
अर्गानिक ग्रोइङ मेडिया, सूक्ष्म जीवाणु विकास, अर्गानिक झोल मल उत्पादन तथा अनुसन्धानमा उनको सक्रियता थियो । डेनमार्क जानुअघि उनले इजरायल गएर अध्ययनसमेत गरेका थिए । करिब १३ वर्ष डेनमार्कमा बसेका डा. पोखरेलले झोल मल र खाद्य पोषणमा विज्ञता हासिल गरेका छन् ।
पोखरेलको कृषि फर्मले माडीको खैरहनीमा चक्लाबन्दीमा आधारित बहुआयामिक व्यावसायिक कृषि फर्म सञ्चालन गरेको छ । उनले फार्ममा अर्गानिक मल प्रयोग गरेका छन् । हाल, फर्मबाट तरकारी र दूध उत्पादन भइरहेको छ । माछा तथा मासुको उत्पादन बजारमा गएको पोखरेलको भनाइ छ ।
‘नेपालमै केही गरौँ भनेरै २ महिना देशका धेरै ठाउँ घुमेँ, उत्साह थपियो’, उनले भने, २०२० फेब्रुअरीमा नेपाल आएर जग्गा छनोट गरेँ ।’ २२ बिगाहा जग्गा अहिले अनुसन्धान भूमि बनेको छ । केही वर्षमै ५० बिगाहा पु¥याउने उनको लक्ष्य छ । ‘जग्गामा ड्रागन फ्रुट, एभोकाडो, आँप, लिची, कटहर र अम्बा रोपिसकेको छु’, उनले भने ।
करिब साढे तीन बिगाहामा थोपा सिंचाइ जडानसहित ५ बिगाहामा तरकारीखेती, १० कट्ठामा मेवाखेती, ८ कट्ठा जग्गामा बेसारखेती, १ बिगाहामा बहुवर्षीय घाँस र ड्रागन फ्रुट, एभोकाडो, आँप, लिची, कटहर, तरबुजा र अम्बा उनले रोपिसकेका छन् । त्यसरी नै २ बिगाहा जमिनमा कागती रोपेका छन् उनले ।
१ बिगाहामा माछा पोखरी, २ वटा प्राकृतिकरुपमा भेन्टिलेटेड प्लास्टिक घर, ५ कोठे अफिस र आवास भवन, ४ कोठे कर्मचारीको आवास घर, १८०० वर्गफिटको गाईभैँसी गोठ, २००० वर्गफिटको कम्पोष्ट पिट, ७०० वर्गफिटको साइलो पिट, १००० वर्गफिटको हाँस÷कुखुराको खोर, १००० वर्गफिटको बाख्राको खोर उनले तयार गरेका छन् । यससँगै ९६० वर्गफिटको कृषि उपज संकलन केन्द्र, १३२ वर्गफिटको कृषि उपज बिक्री कक्ष र १० जना क्षमताको फार्मस्टे निर्माण गरिएको पोखरेलले बताए ।
थप ३ बिगाहा जमिनमा थोपा सिंचाइ जडान, २० जना क्षमताको फार्मस्टेको निर्माण, ५० जना क्षमताको सभाहल, ४ हजार वर्गमिटरको नेट हाउस र १ बिगाहामा माछा पोखरी निर्माण गरी फार्मलाई प्राङ्गारिक कृषिको सिकाइ केन्द्रका रुपमा विकास गरिने आफ्नो योजना रहेको उनले बताए ।
यसको सुरूआत गर्न व्यक्तिगत लगानीमा झन्डै ४ करोडको योजना आँटेर माडी नगरपालिकासँग मगुई खोलाछेउको ऐलानी जग्गा उपयोग गर्ने सम्झौता गरी पोखरेलले तीव्रतासाथ काम थालेका छन् । खोलाले बगर पारेर छाडेको ठाउँमा उनको पशुपक्षीसहित तरकारी र फलफूलको बहुकृषि उद्यम पचासौँ जनालाई दैनिक रोजगारी दिने गरी चलायमान हुन थालेको छ ।
‘केही आफ्नो कमाइ, पुख्र्यौली सम्पत्ति र ऋण गरेर लगानी गरेको छु । राम्रै हुने अपेक्षा छ’, पोखरेलले भने । विश्वमा धेरै अर्गानिक फुड मार्केटको देशका रुपमा चिनिएको डेनमार्क छाडेर नेपाल फर्केका उनले माडीमा ज्ञान र सीपसँगै तन, मन र धन लगानी गरेका छन् ।
ठूल्ठूला टनेल र भौतिक संरचनाहरु समेत उभ्याइसकेको उक्त जग्गामा गाईभैँसी, कुखुरा, बाख्रा, माछा, फलफूल र तरकारीको व्यवस्थित कृषि फार्ममात्रै होइन, अनुसन्धान केन्द्र र फार्मस्टेसमेत सञ्चालनमा छन् । ‘मेरो देशले मलाई लगानी गरेर पढाएको छ, त्यो पूरा गर्न पनि देश फर्कनुपर्छ । विदेशमा बस्न हुन्न भन्ने लाग्छ र फर्किएँ’, डा. भानिश्वर पोखरेलले बताए ।
श्रीमती प्रिया पुरी र छोरा आरोहणले उनलाई सपना र योजनामा सहयोग गरेका छन् । ‘मेरो सपनालाई साकार पार्न सघाउने मुख्य गरी श्रीमती र छोरा हुन् । बाबाआमा, परिवारसँगै डेनमार्कमा रहेका साथी र रामपुर कृषि क्याम्पसका साथीहरुको हौसलाले आज म यहाँ छु’, परिवार र साथीहरुलाई श्रेय दिँदै पोखरेलले भने । सचेत मान्छेहरु सधैँ विदेश बस्न नहुने, ज्ञान र सीप सिकेर देश फर्कनुपर्ने उनले बताए ।
उनको चाहना देश फर्केर अर्गानिक कृषिको विकास र विस्तारमा नीति निर्माणमै परिवर्तन गर्ने भन्ने थियो । सोचेअनुसार गर्न नसकिएको उनी बताउँछन् । कसैको हस्तक्षेपबिना काम गर्न निजी कम्पनी नै चाहिन्छ भन्ने सोचे उनले । त्यसैअनुरुप निजी फार्म खोलेर कृषिकर्ममा उनी होमिए ।
कृषि वैज्ञानिक पोखरेलले देशैभर अर्गानिकमा जाने अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । विषादी र रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति गुमिसकेकाले केही वर्ष माटो सुधार अभियान चलाउनुपर्ने उनको सुझाव छ ।